सेनाले हिउँ फुटाएपछि मनाङको नार्पाभूमि जाने बाटो खुल्यो

केन्द्रभाग मिडिया

पोखरा ।

मनाङको नार्पाभूमि गाउँपालिका जाने बाटोमा जमेको बाक्लो हिउँ पन्छाएर बाटो खुलाइएको छ । आगामी निर्वाचनको तयारीका लागि तीनै तहका सुरक्षाकर्मीको टोलीले तीन दिनसम्म लगाएर बाटो खोलेका हुन् ।

मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार नार्पाभूमि जाने बाटोमा पर्ने धर्मशाला र झरना आसपासको क्षेत्रमा बाक्लो हिउँ जम्दा आवतजावत पूर्ण रूपमा बन्द भएको थियो । बाटो अवरुद्ध भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएर तीन दिनको निरन्तर प्रयासपछि हिउँ पन्छाउँदै बाटो खुलाएको हो ।

बाटो खुले पनि गाउँलेहरू गाउँ फर्किएका छैनन् । जाडो छल्न काठमाडौँ, पोखरा बेसी झरेका अधिकांश मतदाता फर्किने क्रममा रहेको पौडेलले सुनाए । काठमाडौँ बस्ने मतदाताहरू १४–१५ गतेतिर गाउँ फर्किने बुझिएको छ ।

अन्य क्षेत्रहरूमा केही दिनमै मतदान सामग्री पुगिसक्ने उनले बताए । मतदान अधिकृत र सहायक कर्मचारीहरूलाई तालिम दिएपछि सुरक्षा घेरासहित मतपत्र र मतपेटिकाहरू सम्बन्धित मतदान केन्द्रमा पठाइने उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल मौसम बाहेक मनाङमा अन्य चुनौती नरहेको बताउँछन् । नार्पाभूमिका अध्यक्ष कोन्जो तेन्जिङ लामा मतदाताहरूलाई गाउँ फर्काउन प्रयास भइरहेको बताउँछन् ।

मनाङमा ३ जना मात्रै उम्मेदवार छन् । नेपाली काँग्रेसबाट टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट यशोदा सुवेदी र मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घले उम्मेदवार छन् । यसअघि एमाले र राप्रपाले समेत उम्मेदवारी दिएकोमा काँग्रेसलाई समर्थन गर्दै उनीहरूले मनोनयन फिर्ता लिएका छन् ।

  • ११ फाल्गुन २०८२, सोमबार १२:४४ प्रकाशित