काठमाडौं ।
धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।
दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।
पोखराबाट काठमाडौं जाँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।
दुर्घटनामा हालसम्म १९ जनाको ज्यान गएको छ । १७ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा ज्यान गएको हो ।













