काठमाडौं ।
धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमै १७ जना र थप २ जनाको उपचारका क्रममा ज्यान गएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस गएराति बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमान्डमा टोली खटिएको थियो । यस्तै नेपाल प्रहरी, नेपाली सेना र स्थानीय समेत उद्धारका खटिएका थिए ।
दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । घाइतेहरूको धादिङ र काठमाडौँमा उपचार भइरहेको बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।














