पोखरा ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङको राइनसटारमा पछिल्लो चौबीस घन्टामा ३०.६ मिलिमिटर वर्षा भएको छ । कास्कीको छोम्रोङमा १५.४ मिलिमिटर वर्षा भएको छ । गण्डकीकै अरु विभिन्न स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ ।
दाङको पदमपुरमा ३३ मिलिमिटर वर्षा मापन भएको छ । कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा पनि पछिल्लो चौबीस घन्टामा छिटपुट वर्षा भएको छ ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ ।
दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।













