काठमाडौं ।
मलेसियामा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२:५७ बजे मलेसिायाको सबाह राज्य नजिकै पर्ने सुलु सागरको जमिनमुनि शक्तिशाली भूकम्प गएको हो । सन् १९२३ पछि यस क्षेत्रमा रेकर्ड गरिएको यो नै सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो ।
भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि भए तापनि यसको गहिराइ निकै धेरै अर्थात् ६२० किलोमिटर रहेको बताइएको छ । भूगर्भविद्हरूका अनुसार सामान्यतया यति धेरै गहिराइमा जाने भूकम्पले जमिनको सतहमा कम प्रभाव पार्ने गर्दछ । त्यसैले सुनामीको खतराको चेतावनी जारी गरिएको छैन । केन्द्रविन्दुको गहिराइले गर्दा सम्भावित ठूलो संकट टरेको विज्ञहरूको विश्लेषण छ । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले कुनै पनि सुनामीको खतरा नरहेको स्पष्ट पारेको छ । केन्द्रका अनुसार भूकम्प अत्यधिक गहिराइमा गएका कारण समुद्री छालहरूमा असामान्य हलचल उत्पन्न हुने सम्भावना देखिएन ।
मलेसियाको मौसम विज्ञान विभागले पनि सर्वसाधारणलाई नआतिएर आफ्नो नियमित कार्यमा लाग्न आग्रह गरेको छ । भूकम्पका कारण सबाह र सारावाकका बासिन्दाहरूले केही सेकेन्डसम्म हल्का कम्पन महसुस गरेका थिए । कम्पनका कारण कतिपय मानिसहरू घरबाहिर निस्किएका थिए ।
मलेसियाका अतिरिक्त छिमेकी मुलुकहरू फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही उच्च भवनहरूमा समेत यसको हल्का धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सबाहको वारुण नियन्त्रण तथा उद्धार विभागका अनुसार अहिलेसम्म कुनै पनि भौतिक पूर्वाधारको क्षति वा मानवीय हताहतीको रिपोर्ट प्राप्त भएको छैन ।













