पृथ्वी राजमार्गबाट त्रिशूली किनारमा बस खस्दा १७ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
पृथ्वी राजमार्गमा भएको यात्रुबहाक बस दुर्घटनामा परेर १७ जनाको ज्यान गुमेको छ ।  धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै गएराति पोखराबाट काठमाडौं जाँदै गरेको ग.२ ख १४२१ नम्बारको बस त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो । बस गएराति १ बजेतिर त्रिशूली नदी किनारमा खसेको र तयसमा सवार ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै ज्यान गुमेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने मध्य एक महिला र एक पुरुष विदेशी नागरिक भएको खुलेको छ । तर, प्रहरीले अहिलेसम्म ज्यान गुमाउनेको पहिचान भने खुलाएको छैन । २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

बसमा ४४ जना सवार थिए । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ ।

जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले मृतक र घाइतेको उद्धार गरेका थिए । दुर्घटनाको कारण भने खुलेको छैन । प्रहरीका अनुसार सडकबाट करिब ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको थियो । उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरीको कमाण्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो ।

  • ११ फाल्गुन २०८२, सोमबार ०८:१६ प्रकाशित