निर्वाचनका लागि बजेट अभाव हुन दिँदैनौँ : अर्थमन्त्री

केन्द्रभाग मिडिया

ललितपुर ।

अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गरेका छन्। ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका हुन् ।

पर्यटन बोर्ड र परिसूचक मिडियाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उनले राज्यको स्रोतलाई सही ढंगले परिचालन गरी निर्वाचनको वातावरण सुनिश्चित गर्ने आश्वासन दिए। अर्थमन्त्रीले मुलुक अब राजनीतिक अस्थिरताको बहसबाट बाहिर निस्केर आर्थिक समृद्धिको दिशामा लाग्नुपर्नेमा जोड दिए।

सरकारका सामु राजनीतिक अन्योल चिरेर देशलाई आर्थिक एजेन्डामा लैजानु नै सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ थियो। खनालले अघिल्लो सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा दिने घोषणा गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको स्वीकार गरे। उनले पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकारले नीतिगत सुधार गरिरहेको र यसलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

देशको अर्थतन्त्रलाई बलियो बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गर्दै अर्थमन्त्रीले विभिन्न नीतिगत कामहरू अघि बढिरहेको जानकारी दिए। पर्यटन र अन्य आर्थिक क्षेत्रको उन्नयनका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उनको तर्क थियो। निर्वाचनपछिको स्थिर सरकारले आर्थिक विकासका योजनाहरूलाई थप गति दिने विश्वाससमेत उनले व्यक्त गरे।रासस

  • ८ फाल्गुन २०८२, शुक्रबार १२:०८ प्रकाशित