काठमाडौं ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित चार राजनीतिक दलहरू सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेको छ ।
समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका दुवै नेताको तत्काल र बिनाशर्त रिहाइको माग गरेको छ ।
संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेलद्वारा जारी विज्ञप्ति अनुसार, अध्यक्ष ऋषि कट्टेललाई आज दिउँसो करिब १२ बजे कीर्तिपुरको ट्याङ्लास्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको हो । प्रहरीले बिना कारण र बिना पक्राउ पुर्जी उनलाई नियन्त्रणमा लिई हाल टेकुस्थित अपराध महाशाखामा राखेको जनाइएको छ । त्यस्तै, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई हिजो काठमाडौंको खिचापोखरी क्षेत्रबाट गिरफ्तार गरिएको थियो ।
चार दल र क्रान्तिकारी शक्तिहरू मिलेर बनेको संयुक्त संघर्ष समितिले आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने नीति अख्तियार गरेको छ ।
सोही बहिष्कारको नीतिका कारण नै सरकारले प्रतिशोध साँधेर नेताहरूलाई पक्राउ गरेको समितिको जिकिर छ । विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै यो गिरफ्तारीलाई फासीवादी कदम भनिएको छ ।














