आईसीसी टी–२० विश्वकप

स्कटल्यान्डले दियो नेपालका लागि १७१ रनको लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।

आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई जितका लागि स्कटल्यान्डले १ सय ७१ रनको लक्ष्य दिएको छ।

स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रन जोडेको हो । मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले पहिले ब्याटिङ गरेको हो ।

स्कटल्यान्ड ओपनर जर्ज मुन्से र माइकल जोन्सले १० ओभरमा ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । १० औँ ओभरको अन्तिम बलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अ‍ोपनर जर्ज मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच गराए । मुन्से २९ बलमा ४ चौका सहयोगमा २७ रनमा क्याच आउट भए ।

त्यसअघि १० औँ ओभरको पाचौँ बलमा माइकलले ३१ बलमा ६ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए । त्यसको दोस्रो बलमा जर्ज आउट भए । दोस्रो विकेटका लागि माइकल र ब्रान्डोन म्याक मुलेनले ५२ रनको साझेदारी गरेका थिए । १६ औँ ओभरको दोस्रो बलमा माइकल जोन्स सोमपाल कामीको बलमा बोल्ड आउट भए । ४५ बलमा ८ चौका र ३ छक्का हानेमा माइकल आउट हुन पुगे ।

१६ औँ ओभरको चौथो बलमा २५ रन बनाएका ब्रान्डोम सोमपाल कै बलमा कट एण्ड बोल्ड हुन पुगे । ब्रान्डोमले १९ बलमा १ चौका र १ छक्का हानेका थिए ।

कप्तान रिची बेरिङटोन १० रन बनाउँदा कुशल भुर्तेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे । म्याथु क्रस ४ रनमा नन्दन यादवको बलमा बोल्ड आउट भए । टोम ब्रुस ५ रन बनाउँदा सोमपाल कै बलमा बोल्ड आउट भए ।
माइकल लिस्क ४ रन बनाउँदा नन्दनको बलमा आशिफ शेखको हातबाट आउट भए । मार्क वाट १० ओलिभर डेविडसन १ रनमा अविजित रहे । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेटको योगदान दिए । सोमपालले आफ्नो स्पेलमा २५ रन दिए ।

नन्दन यादवले २ विकेट लिए । कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान एक-एक विकेट लिए ।

  • ५ फाल्गुन २०८२, मंगलवार २१:०८ प्रकाशित