नेकपा संयुक्तको घोषणापत्र सार्वजनिक : उद्यमी राष्ट्र निर्माण गर्ने लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले फागुन २१ गते हुने निर्वाचनमा मतदातासँग मत माग्न घोषणापत्र सार्वजनिक गरेको छ ।‘विकासको नेपाली बाटो’ सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित घोषणापत्र सार्वजनिक गरेको हो ।

मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको सो पार्टीको घोषणापत्रमा उद्यमी राष्ट्र निर्माण गर्ने लक्ष्य राखिएको छ । हालका कमजोर सरकारी योजना र नियमनले औद्योगिक निजी क्षेत्र र उद्यमशीलताको विकास हुन नसकेको भन्दै उत्पादन नगर्ने र केवल वितरणमा जोड दिने अर्थतन्त्र आफैँ धराशायी हुने भएकाले अहिलेको कार्यभार नै उद्यमी राष्ट्रको निर्माण गर्नु रहेको नेकपा (संयुक्त)को भनाइ छ । उद्यमशील राष्ट्र निर्माणको पहिलो सर्त मुलुकको श्रम शक्तिलाई उद्यममा ल्याउनु रहेको उक्त पार्टीले जनाएको छ ।

‘भूमिहीन वा गरिब किसान, असङ्गठित क्षेत्रका सहरी तथा ग्रामीण श्रमिकहरू, विदेशमा गएर श्रम गर्ने मौसमी श्रमिकहरू, जमिन भएर पनि ऋणका कारणले अन्यत्र श्रम गर्नु पर्नेहरू, घरधन्दामा टाक्सिएका महिलाहरू, परम्परागत पेसाले जीवन धान्न नसक्ने वा ती पेसाबाट उखेलिएका दलितहरू सबैलाई उद्यममा ल्याउनु र उनीहरूलाई न्यूनतम ज्याला वा उपार्जनको संरचनामा ल्याउनु हो’, घोषणापत्रमा भनिएको छ ।

नेकपा (संयुक्त) ले कृषिमा आश्रित हरेक परिवारमा महिनामा न्यूनतम ४०–४५ हजार रुपियाँ भित्रिने व्यवस्था नगर्ने हो भने तिनलाई कृषिमा टिकाउन नसकिने निष्कर्ष निकाल्दै गरिबी, बेरोजगारी, युवा पलायनको मुख्य श्रोत संरक्षण नपाएको ग्रामीण कृषि भएको जनाएको छ ।

‘त्यसलाई नभत्काई हुँदैन । त्यसका लागि कृषि क्षेत्रको संरक्षण गर्नै पर्छ’, ५६ पेज लामो घोषणापत्रमा भनिएको छ, ‘कृषिको संरक्षण भनेको ५१ प्रतिशत किसानको संरक्षण हो । यो काम अरू कसैले जिम्मा लिँदैन, राज्यले नै जिम्मा लिनुपर्छ ।’

कृषिमा संरक्षणको नीतिले ५ वर्षमा कृषि उत्पादनमा आत्म निर्भर हुनसक्ने र त्यसले कृषिमा आधारित उद्योगको ठुलो क्षेत्र खुल्ने घोषणापत्रमा उल्लेख छ ।

नेकपा संयुक्तले कृषि, शिक्षा, स्वास्थ्य पर्यटन, पूर्वाधार र सूचना प्रविधि र सुशासनलाई प्राथमिकतामा राखेर सार्वजनिक गरेको घोषणापत्रमा सङ्घीय प्रणालीको प्रभावकारीताका लागि आवश्यक संवैधानिक व्यवस्थाका तथा कानुनी प्रबन्ध गर्नुपर्नेमा जोड दिएको छ ।

  • ५ फाल्गुन २०८२, मंगलवार १६:०६ प्रकाशित