पोखरा ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले सोमबार साँझ स्कुल बसका चालकको मापसे चेकजाँच हुने र मापसे गरेर सवारी चलाउने चालक र विद्यालय कारबाहीमा पर्ने भन्दै सन्देशमुलक स्टाटस लेखे । कतिपयले प्रहरीले गर्ने नियमित कामको विषयमा मेयरले स्टाटस लेखेको भन्दै त्यो काम प्रहरीको नियमित काम भएको र मेयरले अन्य काममा ध्यान दिनुपर्ने टिप्पणी पनि गरे ।
सोमबार पोखरामा भएको मापसे चेकजाँचमा पोखराका नाम चलेकै विद्यालयहरुका पाँच जना बस चालक पक्राउ परेको समाचार सार्वजनिक भइसकेपछि प्रमुख आचार्यले यस्तो स्टाटस लेखेका थिए । तर, सोमबारको चेकिङ र प्रमुख आचार्यको सार्वजनिक चेतावनीयुक्त स्टाटस आउँदा आउँदै मंगलबार विहान चेकिङ गरिएका स्कुल बसका चालक मध्ये २० प्रतिशत चालकले रक्सी पिएको भेटिएको छ ।
जम्मा २५ वटा स्कुलबस चेक गर्दा ५ जना चालक रक्सी पिएका भेटिएको चेकिङको कमाण्ड गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सई रञ्जित आचार्यले जानकारी दिए । उनका अनुसार विहान ४ः०० बजेदेखि ६ बजेसम्म फिर्केखोला पुल नजिक चेकजाँच गरिएको हो । त्यसक्रममा अन्य सवारी साधन चलाउने थप ६ जना चालक रक्सी पिएका भेटिएका छन् । यसरी रक्सी पिएर सवारी चलाउनेमा पोखरा लामाचौरको गण्डकी बोर्डिङ स्कुल, पोखरा न्युरोडको गुरुकुल विद्यासदन, रत्नचोकमा रहेको रत्नज्योति मावि, पोखरा १५मा रहेको इमानुयल स्कुल र केफ माविका चालकले रक्सी पिएर सवारी चलाएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरोकारवालाको गुनासोलाई मध्यनजर गरेरै स्कुल बसका चालकको मापसे चेकजाँच गरिएको जानकारी दिए । उनले कुनैपनि सवारीसाधनका चालकले मादक पदार्थ र लागु औषध प्रयोग गरेर सवारी चलाउनु नै अपराधजन्य कार्या हुने बताए । अझ विद्यार्थी बाबुनानी बोक्ने जस्तो सम्बेदनशील विषयमा विद्यालय र अभिभावक पनि जिम्मेवार बन्नुपर्ने उनको भनाई छ । पक्राउ परेका चालकलाई यातायात व्यवस्था ऐन अन्तर्गत कारबाही हुने र उनीहरुको लाइसेन्स समेत खारेज गर्न सकिने प्राबधान रहेको उनले बताए । पक्राउ परेकाहरु विरुद्ध मुद्धा दर्ता गरिने समेत उनले जानकारी दिएका छन् । ‘यो निकै सम्बेदनशील विषय हो । पक्राउ परेका चालकको लाइसेन्स खारेज समेत हुन सक्छ । उनीहरु विरुद्ध मुद्दा चलाउँछौं नै,’ उनले भने,‘सम्बन्धित विद्यालय र सरोकारवालालाई समेत बोलाएर यस विषयको निरुपण गर्नेछौं ।’
पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्कुल बसका चालकले मादक पदार्थ सेवन गर्ने विषय गम्भिर विषय भएकाले महानगरको यसमा गम्भिर ध्यानाकर्षण भएको बताए । उनले विषय गम्भिर भएर नै महानगर प्रमुखले चेतावनीकै स्वरुप स्टाटस लेख्नु परेको र महानगरको तर्फबाट पनि मंगलबार नै विद्यालयहरुमा यस्ता चालक नराख्न निर्देशन पठाउने तयारी भएको उनले जानकारी दिए । ‘कक्षा १२ सम्मको विद्यालय हेर्ने स्थानीय तहको अधिकार हो । यसमा उनीहरुले चलाउने बस र चालकको विषय हाम्रोमा पर्दैन । तर, विद्यालय जस्तो सम्बेदनशील विषय जहाँ विद्यार्थीको भाविष्य, स्वयम विद्यालय र अभिभावकको समेत भविष्य सुरक्षा अनि भरोसाको विषय पनि यसमा हामी गम्भिर छौं । त्यसैले यस सम्बन्धमा हामी विद्यालहरुलाई निर्देशन नै पठाउने अनि थप आवश्यक परे कानुनको अधिनमा रहेर कारबाही प्रक्रिया समेत आगाडि बढ्न सक्छ । उनले भने ।
एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले यो विषय गम्भिर भएकाले आफू आवद्ध सबै स्कुललाई यस्ता चालक नराख्न निर्देशन नै दिने बताए । मदिरा सेवन गरेर सवारी चलाउनेलाई कानुन अनुरुप कारबाही गर्न आफूहरुले पनि सहयोग गर्ने उनको भनाई छ । ‘यो गम्भिर विषय हो । विद्यार्थीको भविष्य जोडिएको सम्बेदनशील विषय भएकाले हाम्रोपनि ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा मातहतका विद्यायलाई हामी तत्काल निर्देशन दिने र छलफल गर्ने काम गर्छौं’ उनले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले मादक पदार्थ सेवान गरेर स्कुल बस चलाउने चालक विरुद्ध अनुसन्धान भइरहेको र मुद्दासमेत चल्न सक्ने बताए । कार्यालयले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई बेलाबखत कारबाही तथा सचेत गराउने गर्दै आएको उनले जानकारी दिए ।
यसअघि पनि ट्राफिक प्रहरीले मापसे गरी स्कुल बस चलाउने विभिन्न स्कुल तथा कलेजका चालकलाई कारबाही गरेको थियो ।














