रुपन्देही ३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

केन्द्रभाग मिडिया

बुटवल ।

रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले सोमबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा पनि गरेका हुन् । यादव जसपा नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

प्रचलित कानुन अनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वाससहित एमालेलाई रोजेको उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

‘आजका मितिदेखि जनता समाजवादी पार्टी ९जसपा०, नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले)मा समाहित भएको घोषणा गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

यादवले आफूलाई विश्वास गर्ने मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेका छन् । रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन् ।

एमाले प्रवेश गरेका उनलाई नेकपा ९एमाले० रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरू भुमिश्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,प्रमोद यादब, हरिप्रसाद अधिकारी, उमा काफ्ले, अनुप बराललगायतले पार्टीमा स्वागत गरेका थिए ।

  • ४ फाल्गुन २०८२, सोमबार १२:५१ प्रकाशित