रत्नज्योतिमा साँस्कृतिक कार्यक्रमसहित विज्ञान प्रदर्शनी र खाद्य महोत्सव

केन्द्रभाग मिडिया

पोखरा ।

रत्नज्योति माविमा वृहत साँस्कृतिक कार्यक्रमसहित विज्ञान प्रदर्शनी  र खाद्य महोत्सव सम्पन्न भएको छ । पोखरा ८ रत्नचोकमा रहेको सो विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का  विद्यार्थीहरुले शनिबार वृहत साँस्कृतिक कार्यक्रमको साथमा विज्ञान प्रदर्शनी र खाद्य महोत्सव गरेका हुन् ।

विज्ञान समूहमा अध्ययन गर्ने विद्यार्थीहरुले २ वटा स्टलहरु तयार गरि विभिन्न किसिमका विज्ञान सामाग्रीहरु प्रदर्शनी गर्ने तिनीहरुको भविष्यमा हुनसक्ने  उपयोगिता बारे जानकारी दिएका थिए । यसैगरी होटल व्यवस्थापन समूहमा अध्ययन गर्ने विद्यार्थीहरुले  खाद्य महोत्सव अन्तर्गत ५ वटा स्टलमार्फत बिभिन्न  परिकारहरु तयार गरि सहभागीहरुलाई स्वाद तथा स्वस्थता परिक्षण गराएका थिए  । विद्यालयका  कुल ६८५ विद्यार्थी, अभिभावक र स्थानीयको सहभागितामा कार्यक्रम सम्पन्न भएको विद्यालयकी भाइस प्रिन्सिपल सुमिता पौडेलले जानकारी दिइन् ।

कार्यक्रमको उद्घाटन गर्दै फिस्टेल लजका सेफ गोविन्द खनालले आयोजक विद्यार्थीहरुलाई कक्षा ११ र १२ भित्रै आफ्नो जीवनको लक्ष्य किटान गरि सक्नुपर्ने र  किटान गरिएको लक्ष्यमा निरन्तर मेहनत गर्नुपर्ने बताए । उनले होटल व्यवस्थापन तथा खाद्य परिकार उत्पादनको क्षेत्रमा निरन्तर ३२ वर्षसम्म क्रियाशीलल भएको अनुभव सुनाए । वर्तमान समयमा होटल व्यवस्थापन विषयको सान्दर्भिकता देश भित्र र वाहिर समेत बढ्दै गएको तर नागरिक  स्वास्थ्य जोगाउदै स्वादिलो खाद्यपरिकार निर्माण कार्यलाइ निरन्तरता दिनु आजको प्रमुख चुनौती भएको उनले बताए ।

सो अबसरमा विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुबराज बास्तोला, विद्यालयका सपरिवेक्षक तिर्थराज ढकाल, विष्णु पादुका मावि हेम्जाका प्रधानाध्यापक दिपक पौडेल, सहारा आवासीय विद्यालय पृथ्वीचोकका प्रधानाध्यापक लोचना अधिकारीको विशेष उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता विद्यालयका कक्षा १२ का विद्याथी प्रवेश परियारले गरेका थिए । विद्यालयका प्लस टु कोर्डिनेटर भुवन सुवेदीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी चेतन पोखरेलले गरेका थिए । विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टराईले सहभागीलाई धन्यवाद दिएका थिए ।

 

  • ४ फाल्गुन २०८२, सोमबार ०८:५४ प्रकाशित