निर्वाचन आउन १८ दिन बाँकी : डिजिटल मतदाता शिक्षा अभियान सुरु, वडा–वडामै खटिए स्वयंसेवक

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा विशेष मतदाता शिक्षा अभियान सुरु गरेको छ । अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ ।

विगतका निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्दै आयोगले यस पटक आफ्नै नेतृत्वमा प्रभावकारी रूपमा कार्यक्रम अगाडि बढाएको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । विगतमा स्थानीय तहका कर्मचारीहरूलाई स्वयंसेवकको रूपमा परिचालन गरिँदै आएकोमा यस पटक आयोगले प्रत्येक वडामा एक–एक जना आफ्नै स्वयंसेवक नियुक्त गरेको छ ।

स्थानीय तहबाट सञ्चालित कार्यक्रममा अपनत्वको कमी देखिएकाले यस पटक आयोगले आफैंले स्वयंसेवक छनोट गरी तालिम दिएर कार्यक्षेत्रमा खटाएको हो । यी स्वयंसेवकहरूले स्थानीय भाषा र परिवेश बुझेर मतदाताहरूलाई सही तरिकाले मतदान गर्ने विधि सिकाउनेछन् ।

यस पटकको मुख्य विशेषता ‘डिजिटल मतदाता शिक्षा’ रहेको सूचना अधिकारी घिमिरेले बताए । कागजको प्रयोगलाई न्युनिकरण गर्ने उद्देश्यले आयोगले पोस्टर र पम्प्लेटको सट्टा सामाजिक सञ्जाललाई प्राथमिकता दिएको छ । निर्वाचन आयोगको आधिकारिक फेसबुक पेज ‘इलेक्सन कमिसन नेपाल’ मा उपलब्ध रहेका भिडियो, एनिमेसन र ब्रोसरहरू मतदातालाई देखाएर शिक्षा दिइनेछ ।

स्वयंसेवकहरूले घरदैलोमा जाँदा नमूना मतपत्र र स्वस्तिक छापको प्रयोग गर्दै मत बदर हुन नदिने तरिका सिकाउने घिमिरेले बताए । उनकाअनुसार अभियानको प्रभावकारिता अनुगमन गर्न आयोगले प्रविधिको प्रयोग गरेको छ ।

हरेक स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरूलाई अनुगमनको जिम्मेवारी दिइएको छ भने केन्द्रबाट ह्वाट्सएप ग्रुपमार्फत दैनिक रिपोर्टिङ र अनुगमन भइरहेको छ । मतदाताहरूलाई पनि आयोगको आधिकारिक पेज फलो गर्न प्रोत्साहन गर्दै डिजिटल माध्यमबाटै निर्वाचन सम्बन्धी जानकारी लिन आग्रह गरिएको छ ।

  • ३ फाल्गुन २०८२, आईतवार ११:५६ प्रकाशित