आज ‘भ्यालेन्टाइन डे’, प्रेम र स्नेह साटासाट गरी मनाइँदै

केन्द्रभाग मिडिया

पोखरा ।
आज १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’ । आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय छ ।

आफन्त होस् वा मन परेको मानिस आफ्नो नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलमा एसएमएस गरी पनि ‘भ्यालेन्टाइन डे’ मनाउने चलन छ ।

प्रेम व्यक्त गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न गिफ्ट पसलहरूमा युवायुवतीहरूको भीड देखिन्छ । युवा पुस्तामा ‘भ्यालेन्टाइन डे’ को लोकप्रियता बढेसँगै यो दिवस हप्ताभरि मनाउने गरिएको छ । फेब्रुअरी ७ मा ‘रोज–डे’ बाट सुरु हुन्छ । गुलाफ दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो ‘हग’ गर्ने र आखिरमा प्रणय दिवस मनाइने गरिन्छ ।

विशेषगरी आजको दिन पार्क, सिनेमा हलसहितका मनोरञ्जलस्थलहरुमा प्रेमिल जोडीहरुको भीडभाड लाग्ने गर्दछ । ‘भ्यालेन्टाइन डे’ मनाउने परम्परा तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनसँग जोडिएको विश्वास छ। रोमन शासक क्लोडियसले सैनिकलाई विवाह गर्न रोक लगाएपछि सन्त भ्यालेन्टाइनले त्यसको विरोध गर्दै गुप्त रूपमा विवाह गराइदिएका थिए ।

यही कारण उनलाई १४ फेब्रुअरी २६९ मा मृत्युदण्ड दिइएको थियो । उनको बलिदान र प्रेमप्रतिको समर्पणको सम्झनामा यो दिवस मनाउने परम्परा सुरु भएको विश्वास छ ।

  • २ फाल्गुन २०८२, शनिबार ०६:४३ प्रकाशित