ठेस लागेर चुनावमा उठेको हुँ, राजनीति गर्दिनँ : डा. महावीर पुन

केन्द्रभाग मिडिया

पोखरा ।

म्याग्दीमा प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र रुपमा उम्मेदवार बनेका डा. महावीर पुनले मन्त्री भएर शिक्षा क्षेत्र सुधारका लागि कानून बनाउन नपाउँदा ठेस लागेर निर्वाचन लड्न आएको बताएका छन् । शुक्रबार पोखराको नदीपुरमा भेला भएका म्याग्देलीसंग मत माग्ने क्रममा यस्तो भनेका हुन् ।

उनले आफूले राजनीति नगर्ने बताएको र चुनाव जितेपनि राजनीति नगर्ने उल्लेख गरे । चुनाव लड्नु राजनीति नभएर समाज सेवा भएको उनले अर्थ्याएका छन् । मन्त्री बेनका बेला शिक्षा क्षेत्र सुधार्ने अध्यादेशलाई कानून्मा परिणत गर्नका लागि मात्र संसदमा जाने उद्देश्यले चुनाव लड्न आएको उनको प्रष्टिकरण छ ।

चुनाव गराउन मन्त्री बनेको मान्छे आफै चुनाव लड्न गएको भनि लागेको आरोपको उनले खण्डन गरे । ‘भन्न त मलाई चुनाव गराउन आएको मान्छे भागेर आफै चुनाव लड्न गएको मान्छे पनि भन्छन् । कसैले बेवकुफसमेत भनेका छन् । तर म राजनीति गर्ने रहरले चुनाव लड्न आएको होईन ।’ उनले भने, ‘बरु मन्त्री बनेका बेला शिक्षा क्षेत्र सुधार्ने अध्यादेशलाई कानूनमा परिणत गर्नका लागि मात्र संसदमा जाने उद्देश्यले चुनाव लड्न आएको हुँ ।’

उनले थपे, ‘शिक्षा सम्बन्धी अध्यादेश ल्याउन सकेको भए म चुनाव लड्न नै आउने थिइनँ । प्रधानमन्त्रीज्यूले मलाई रिसाएर गएको भन्नु भएको छ । मैले धोका दिएको होइन । बरु बैले धोका खाएर आएको हो ।’

उनले मन्त्री बनेका बेला शिक्षा क्षेत्र सुधार्ने अध्यादेशलाई कानुनमा परिणत गर्नका लागि आफै संसदमा जाने बाहेकको अरु उपाए नदेखेको उनको भनाई छ । पुनले शिक्षा क्षेत्रमा भ्रष्टाचार रहेको र त्यसलाई सुधारका लागि अध्यादेश ल्याउने कूरा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएको पनि बताए । तर, ४ माघ पछि आचारसंहिता लाग्नेहुँदा आफ्नो योजना पूरा नभएपछि राजिनामा दिएको उनले सुनाए ।

  • १ फाल्गुन २०८२, शुक्रबार १७:३६ प्रकाशित