पोखरा ।
फेवातालमा एसएलआर राईफलसहित त्यसमा लाग्ने १८ राउण्ड गोली भेटिएको छ । स्थानीय जलारीले जाल हान्दा मु.वा. १११ (बट) नम्बर बडी नम्बर १३८१० लेखिएको एसएलआर राईफल र त्यसमा प्रयोग हुने १८ राउण्ड गोली भेटिएको कास्की प्रहरीले जनाएको हो ।
कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार पोखरा–१८ खपौंदीस्थित फेवातालमा स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हानेर माछा मार्ने क्रममा राईफल जालमा परेको हो ।
राईफल फेला परेको सूचना आएलगत्तै गएको प्रदेश प्रहरी कार्यालय गण्डकी र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले राईफल बरामद गरेको उनले जानकारी दिए । बरामद हतियार कसको हो भन्नेबारेमा अनुसन्धान चलिरहेको उनले बताए ।














