लमजुङमा जीप दुर्घटना : एक जनाको ज्यान गयो, सात घाइते

केन्द्रभाग मिडिया

लमजुङ ।

लमजुङमा जीप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

भुजुङबाट बेंसीसहरतर्फ आउँदै गरेको ग १ ज ५०६५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी क्व्होलासोथर गाउँपालिका–४, भुजुङ निवासी ७४ वर्षीया मलकुमारी गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।

जीपमा सवार १० जनामध्ये अन्य सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा क्व्होलासोथर–४ का ८० वर्षीय आइतराम गुरुङ, २२ वर्षीया एलिना गुरुङ र २७ वर्षीया स्मृति गुरुङ रहनुभएको छ ।

त्यस्तै बेंसीसहर नगरपालिका–५ की २० वर्षीया कृपा गुरुङ, वडा नं–७ की सात वर्षीया रितु गुरुङ, मर्स्याङ्दी गाउँपालिका–९ का ३१ वर्षीय आर्यन गुरुङ र मर्स्याङ्दी–२, घनपोखरा बस्ने ५० वर्षीया काली गुरुङ घाइते हुनुभएको छ । घाइतेहरूको जिल्लास्थित लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • २८ माघ २०८२, बुधबार १७:०२ प्रकाशित