रुपन्देही ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई संविधान संशोधन र राज्य पुनः संरचनाको मुद्दा लिएर जनताका घरदैलोमा जान निर्देशन दिएका छन् ।
साबिक लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका उम्मेदवार तथा अगुवा कार्यकर्तालाई मङ्गलवार बुटवलमा प्रशिक्षण दिँदै विप्लवले अहिलेको निर्वाचनमा सबैभन्दा नयाँ र जनताप्रति जिम्मेवार पार्टी नेकपा माओवादी मात्रै रहेको दाबी गरेका छन् ।
जनताले माओवादी पार्टीलाई राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने बलियो शक्तिको रूपमा समेत हेरेको दाबी गरेका छन् ।पछिल्लो समय कतिपय पार्टीले लोकप्रियताको आवरणमा विदेशी डिजाइनको प्रतिनिधित्व गरेको संकेत गर्दै उक्त खेलमा देशभित्र गम्भीर चलखेल भइरहेकोसमेत बताएका थिए ।
महासचिव विप्लवले सुशीला कार्की नेतृत्वको सरकारले स्वतन्त्र पहिचान गुमाएको दाबी गरेका छन् । उनले कार्की सरकार रास्वपाको सरकार भएको उनको तर्क थियो ।
चुनाव गराउने जिम्मा लिएर सरकारको मन्त्री बनेकाहरू जिम्मेवारी छाडेर रास्वपाको उम्मेदवार बन्दै हिँड्नुले अस्वाभाविक डिजाइनको संकेत गरेको उनले बताए ।














