आहा ! रारा पोखरा गोल्डकपमा आयोजक सहाराको विजयी शुरुवात

केन्द्रभाग मिडिया

पोखरा ।

आहा १ रारा पोखरा गोल्डकपको २५ औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा क्लव बिजयी भएको छ । उद्घाटन खेलमा आयोजक सहाराले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । सहाराको जितमा प्रसन्न श्रेष्ठले निर्णायक गोल गरे । उनले निर्धारित ९० मिनेटको खेलको अतिरिक्त समयमा गोल गर्दै सहारालाई जित दिलाएका हुन् ।

प्रतिष्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समय सकिएर थपिएको अतिरिक्त समय पनि घर्किन लागेको थियो । त्यहिबेला प्रसन्नले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै सहारालाई बिजयी गराए । बिजयीसँगै सहारा क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा सहाराले नेपाल पुलिस क्लवको सामना गर्नेछ । बिजयी गोल गरेका प्रसन्न मंगलबारको प्लेयर अफ द म्याच पनि घोषित भए ।

प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । दुई समूहमा विभाजित गरिएको प्रतियोगिताको समूह ‘ए’मा नेपाल पुलिस क्लव, आयोजक सहारा क्लव पोखरा, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङम्रस्याङ्दी क्लव र थन्डरबोल्ट नर्थ युनाईटेड भारत रहेका छन् । त्यस्तै, समूह ‘बी’मा अपी पावर चर्च ब्वाईज युनाईटेड, जाउलाखेल युथ क्लव, मच्छिन्द्र फुटबल क्लव, फ्रेण्ड्स क्लव, प्लानिङ ब्वाईज युनाइटेड र आभा एफसी उज्वेकिस्तान छन् ।

अगामी ९ फागुनसम्म चल्ने प्रतियोगिताको मंगलबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । साथै अनुशासित टिम, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ र भाग्यशाली दर्शकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने छ ।

  • २७ माघ २०८२, मंगलवार २१:१४ प्रकाशित