पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी नेकपा हो : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालका राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन् ।

‘हाम्रो नेपाली कम्युनिस्ट पार्टी भन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन’, मंगलबार काठमाडौँमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘नाम र भाषा र व्याकरणको दृष्टिकोणले र सबै खालका पुच्छर हटाउने दृष्टिकोणले पनि ।’

पार्टी गठन पनि गत कात्तिक १९ गते भएकाले सबै हिसाबले नेकपा नयाँ पार्टी भएको प्रचण्डको भनाइ थियो । ‘विचारको हिसाबले पनि योभन्दा नयाँ पार्टी कुनै पनि छैन । सबै वर्ग क्षेत्रको अधिकारको पहिचान गर्ने पार्टी’, उनले भने ।

प्रचण्डले कतिपयले अहिले नयाँ र पुरानाबारे गलत भाष्य बनाइएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

  • २७ माघ २०८२, मंगलवार १३:१० प्रकाशित