एचपीभी खोप अभियान शुभारम्भ, देशभर तीन लाख ५० हजारलाई खोप दिइने

केन्द्रभाग मिडिया

भक्तपुर ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आज भक्तपुरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने अभियान शुभारम्भ गरेका छन् ।

आज जिल्ला जनस्वास्थ्य कार्यालयले सूर्यविनायकमा आयोजना गरेको खोप अभियान शुभारम्भ कार्यक्रममा मन्त्री थापा मगरले खोप हस्तान्नरण गर्दै अभियानको सुरुआत गरेका हुन् ।

अभियान सफल पार्न सबैमा आह्वान गर्दै उनले सरकारले गत वर्ष र यस वर्ष निःशुल्क खोप उपलब्ध गराएकाले खोप नछुटाउन आह्वान गरे । नेपालमा भयावह बन्दै गएको क्यान्सर रोगमा पनि पहिलो नम्बरमा रहेको पाठेघरको मुखको क्यान्सर रोगलाई निर्मल पार्न सरकारले सञ्चालन गरेको खोप अभियानमा कोही किशोरी छुट्न नहुने बताए ।

उनले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको बताउँदै खोप अभियान सफल पार्न सरकारले अभियान सञ्चालन गरेको बताए ।

देशभरका तीन लाख ५० हजार किशोरीलाई खोप दिइने

सरकारले देशका विभिन्न जिल्लामा आइतबारदेखि सुरु खोप अभियान फागुन १५ गतेम्म खोप अभियान सञ्चालन गर्नेछ । कक्षा ६ मा अध्ययनरत सबै र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका तथा गत वर्ष खोप दिन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका ११ देखि १४ वर्षका कुल तीन लाख ५० हजार ५०० किशोरीलाई एसपिभी खोप दिइने लक्ष्य राखेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

पाठेघरको क्यान्सरको रोकथामका लागि अमेरिकाबाट सुरु भएको यो खोप नेपालमा गत वर्षदेखि फागुन २२ गतेदेखि अभियानका रूपमा लगाउन सुरु भएको थियो । एचपीभी खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नै सुरक्षित घोषणा गरिसकेको यो खोप अमेरिकासहित १९४ देशमा प्रयोग भइरहेको बताइएको छ ।

गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ६८८ बालिकालाई एचपिभी खोप लगाइएको थियो । खोप अभियानमा देशभर १५ हजारभन्दा बढी स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् । रासस

  • २६ माघ २०८२, सोमबार १७:०७ प्रकाशित