२० औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन २ गते शनिबार : तयारी पुरा

प्रथम हुनेले ४ लाख नगद पुरस्कार पाउने

केन्द्रभाग मिडिया

पोखरा ।

हरेक वर्ष फागुनको पहिलो साताको शनिबार आयोजना हुदैँ आएको पोखरा म्याराथन यस वर्ष फागुन २ गते शनिबार आयोजना हुने भएको छ ।
२० औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०८२ फागुन २ गते शनिबार पोखरामा आयोजना हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।

म्याराथनलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि २८ वटा विभिन्न उपसमिति गठन गरिएको र अन्तिम तयारी पुरा भएको आयोजक नेपाल भुतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ ।

यस वर्ष म्याराथन प्रतियोगितामा ७ वटा क्याटोगोरी थपिएको छ । हरेक वर्ष १४ क्याटोगोरीमा प्रतिस्पर्धा हुदैं आएकोमा यसपाली ७ क्याटोगोरी थप गरी २१ क्याटोगरीका प्रतिष्पर्धा हुन लागेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।

जसअन्तर्गत खुल्ला म्याराथन ४२.१९५ किमी, नेपाल राष्ट्र स्तरीय खुल्ला म्याराथन ४२.१९५, गण्डकी प्रदेशस्तरी खुल्ला म्याराथन ४२.१९५ किमि, ४५ वर्ष माथिको ४२.१९५ किमीमा प्रतिष्पर्धा हुनेछ ।

यस्तै २१.०९७ किमी हाफ म्याराथन महिला-पुरुष दौड,४५ वर्षमाथिको पुरुष हाफ म्याराथन, महिला-पुरुष १० किमी दौड, विद्यालयस्तरीय छात्र-छात्रा ५ किमी दौड, ४५ वर्ष माथिको भेट्रान्स महिला ५ किमी दौड हुनेछ ।

यस्तै ५० वर्ष माथिको भेट्रान्स पुरुष ५ किमी दौड, ५ किमी खुल्ला महिला(१७ देखि ४४ उमेर समुह)को दौड,५ किमी खुल्ला पुरुष (१७ देखि ४९ उमेर समुह)को दौड, ५ किमी कर्पोरेट महिला-पुरुष दौड हुनेछन् ।

यस्तै उत्सवलाई महोत्सवको रुपमा सफल गरौं भन्ने सन्देश दिन ‘रन फर फन’ दौड पनि हुनेछ । यस्तै पोखरा म्याराथन हुनुभन्दा एक हप्ता अघि ह्विल चियर र दृष्टिविहिन दौड गर्दै आईरहेकोमा गत माघ २४ गते शनिबार यस विद्याको प्रतियोगिता सम्पन्न भइसकेको आयोजकले जनायो ।

म्याराथनको २१ स्पर्धामा ७६ जना बिजेता घोषित हुनेछन् । म्याराथन तर्फ प्रथम हुनेले ४ लाख, द्धितीय हुनेले २ लाख, तृतीय हुनेले १ लाख नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कारमा मात्रै १९ लाख उनान्नब्बे हजार रकम लाग्ने आयोजकले बताएको छ ।चौथो देखि आठौं सम्मकालाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।यस वर्षदेखि दौड पुरा गर्ने सम्पूर्ण खेलाडीहरुलाई ३७ सय वटा फिनिसर मेडल प्रदान गरिने छ ।

म्याराथनका लागि पुरुषतर्फ २१ विदेशीसहित १५१ जना र ४५ वर्षमाथिको म्याराथनमा २८ जना सहभागी हुनेछन् । त्यसै गरी हाफ म्याराथन महिला तर्फ ८ विदेशीसहित १९० जना, हाफ म्याराथन पुरुषतर्फ ८ विदेशीसहित १८८ जना, ४५ वर्ष माथिको हाफ म्याराथन पुरुषतर्फ १ विदेशीसहित २५ जना, १० किमी पुरुषतर्फ ७ विदेशीसहित २०७ जना, १० किमी महिलातर्फ ६ विदेशीसहित ८६ जना, ५ किमी भेट्रान्स ५० वर्षमाथि पुरुष ७५ जना र ५ किमी भेट्रान्स ४५ वर्षमाथि महिलातर्फ गरी ३० जना सहभागी हुने भएका छन् ।

यस्तै ५ किमी छात्रतर्फ १ हजार ६५० तथा छात्रातर्फ ४ सय ७५ जना, ५ किमी खुल्ला पुरुष १७ वर्षदेखि ४९ वर्षतर्फ २२५ जना, ५ किमी खुल्ला महिला १७ देखि ४४ वर्षतर्फ ८० जना, ५ कि.मी कर्पोरेट महिलातर्फ १६० जना र ५ किमी कर्पोरेट पुरुषतर्फ ७० जना गरी कुल ३ हजार ५ सय ६ जनाले नाम दर्ता गराएका छन् ।

रन फर फनमा करिब ६ हजार ७ सय गरी १० हजार २ सय ६ जनाको सहभागीता रहने आयोजकको अपेक्षा छ ।म्याराथन पोखरा रगंशालाबाट सुरु हुने छ ।

  • २६ माघ २०८२, सोमबार १५:५४ प्रकाशित