पोखरा ।
पोखरा रंगशलामा शनिबार सम्पन्न साफ यू–१९ महिला च्याम्पियन्ससिपको उपाधि भारतले जितेको छ । साविक विजेता बंगलादेशलाई ४–० को फराकिलो अन्तरले हराउँदै भारतीय युवा टोलीले उपाधि हात पारेको हो ।
एकपक्षीय जस्तै देखिएको खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्यो । पहिलो हाफको ४२ औँ मिनेटमा जुलान नोङमाइथेमको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ६३ औँ मिनेटमा एलिजावेथ लार्काको गोलमा भारतले अग्रता दोब्बर पार्यो । त्यसको पाँच मिनेटमा नै पर्ल फर्नान्डेजको गोलमा बंगलादेशविरुद्ध भारतले ३–० को आरामदायी अग्रता बनायो ।
८३ औँ मिनेटमा अंविता रघुरमनको गोलमा भारतले ४–० जित हात पारेको हो । यो जितसंगै भारतले यू–१९ च्याम्पियनसिपमा तेस्रो पटक उपाधि हात पारेको हो । भारतले यसअघि सन् २०२२ र २०२४ मा उपाधि जितेको थियो । बंगलादेशले सन् २०१८,२०२१,२०२३,२०२४ र २०२५ मा उपाधि जितेको थियो ।
सन् २०२४ मा बंगलादेशमा भएको फाइनलमा दुई टोलीबीच विवाद भएपछि साफले दुबै टोलीलाई विजेता घोषणा गर्दै संयुक्त रुपमा उपाधि दिएको थियो ।
च्याम्पियनसिपमा बंगलादेश अपराजित रहँदै फाइनल खलेको थियो । बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहेर फाइनल खेलेका हुन् । घरेलु टोली नेपाल तेस्रो र भुटान चौथो स्थानमा रहे ।














