पोखरा ।
आइसीसी टी–२० विश्वकपमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । भारत र श्रीलंकामा सुरु टी–२० विश्वकपको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले विजयी सुरुवात गरेको हो ।
श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ३ बल अगावै ७ विकेटको क्षतिमा भेट्टाउँदै ३ विकेटको जित निकाल्न सफल भयो ।
पाकिस्तानका लागि ओपनर साहिवजादा फरहानले सर्वाधिक ४७ रनको योगदान दिए । फहिम असरफ २९ रनमा अविजित रहे । सैम अयुब २४, बाबर अजाम १५ र कप्तान सलमान आगा १२ रनमा पेभेलियन फर्के । नेदरल्यान्ड्सका लागि आर्यन दुत र पाउल भान मिकेरेनले समान २ विकेट लिए ।
त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स १ बल अगावै १ सय ४७ रन जोडदा अलआउट भयो । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डस्ले सर्वाधिक ३७ रन बनाए । बास डे लिडले ३०, माइकल लेविटले २४ र कोलिनले २० रन थपे ।
पाकिस्तानका सलमान मिर्जाले ३ विकेट लिए । मोहम्मद नवाज, अवरार अहमद र सैम अयुवले समान २ विकेट आफ्नो नाममा गरे ।














