काठमाडौं।
निर्वाचन आयोगले मौसमका कारण फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रभावित हुने नदेखिएको जनाएको छ ।
आयोगले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मौसम विज्ञान विभागको रिपोर्ट विश्लेषण अनुसार आजका दिनसम्म फागुन २१ का लागि तोकिएको निर्वाचन प्रभावित हुने नदेखिएको बताएका हुन् ।
‘जल तथा मौसम विज्ञान विभागको रिपोर्ट अनुसार मौसमका कारण चुनाव प्रभावित हुने देखिएको छैन । हामीले विभागसँग ३० वर्षको मौसमको रेकर्ड उपलब्ध गराउन भनेकोमा त्यसको एभरेज निकाल्दा त्यो अवस्था देखिएको हो’, उनले भने, ‘चुनावका समयमा वर्षा देखिएको छैन । मौसम सुख्खा हुने र वातावरण नर्मल हुने देखिएको छ ।’
आयोगले विभागलाई निरन्तर मौसमको अपडेट दिन भनिएको र नयाँ अवस्था आए सोही अनुसार निर्णय गरिने बताएको छ । हिमाली जिल्लामा मौसमका कारण चुनाव प्रभावित हुन्छ कि भन्ने आशङ्का गरिएको छ । यद्यपि सरकारकाले एकै पटक निर्वाचन हुने बताइसकेको छ ।















