भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो योद्धा बदलिएको कांग्रेस हो : सभापति थापा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशलाई हिजो हिंसाबाट मुक्त बनाएको कांग्रेसले अब भ्रष्टाचारबाट मुक्त बनाउने बताएका छन् । सभापति निर्वाचित भएपछि पहिलो पटक पोखरा आएका उनले शुक्रबार पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

देशको सबै समस्याको जग नै भ्रष्टाचार रहेको भन्दै  नियत सहि भएकाले ठिक नीति बन्ने र नीति र प्रणाली ठिक बनाएपछि भ्रष्टाचार हट्ने उल्लेख गरे । ‘नेपाली जनतामा रिस र आक्रोस छ । त्यो आक्रोस मेटाएर सबैलाई मिलाएर देशलाई निकास दिने हो । नेपाली कांग्रेसले सबैलाई मिलाएर एक अर्कामा विश्वास पैदा गर्ने हो । देशमा सबैभन्दा ठूलो समस्या भनेकै भ्रष्टाचार हो । सबै समस्याको जड नै भ्रष्टाचार हो । यसलाई अब कांग्रेसले मुक्त गर्छ । त्यो जिम्मेवारी बदलिएको कांग्रेसले पूरा गर्छ’ उनले भने ।

अब देशलाई कुनैपनि हिंसाको दलदलमा फस्न नदिने र कुनैपनि उत्तेजनाको रणनीतिमा नेपाललाई पर्न नदिने उनको अठोट छ । कांग्रेसको विशेषता नै संयोजनकारी भूमिका रहेको भन्दै सबैलाई मिलाएर लैजाने उनले बताए ।

आगो जसले पनि लगाउन सक्ने, उत्तेजना जसले पनि फैलाउन सक्ने तर निकास दिन कांग्रेसले मात्र सक्ने उनको भनाई छ । कांग्रेसले नेपालमा फेरि एकपटक सबैलाई मिलाएर विश्वास र भरोसा जगाउने उनको भनाई छ । देशलाई सम्हाल्ने र यसको व्यवस्थालाई सुधार्ने कांग्रेसले उल्लेख गरे ।

  • २३ माघ २०८२, शुक्रबार १५:०६ प्रकाशित