विष्णु र रामजीलाई सम्मान–पुरस्कार अर्पण

केन्द्रभाग मिडिया

पोखरा ।

प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान र पुरस्कार अर्पण गरेको छ ।

बिहीबार आयोजित समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले सम्मान–पत्र र दोसल्लासहित दुवैलाई सम्मान गरे । लम्साललाई सम्मान–पत्रसहित २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरियो ।

सम्मानपछि बोल्दै सापकोटाले संगठनले दुई दशक लामो आफ्नो त्रियाशीलतालाई स्मरण गरेकोमा खुसी व्यक्त गरे । उनले सम्मानले संगठनप्रतिको दायित्व बढेको महसुस भएको बताए । पुरस्कृत पत्रकार लम्सालले अनेक ठक्कर–हण्डरबीच निरन्तर गरिरहेको कर्मको मूल्यांकन भएको बताए । विगतको पुरस्कार, पुस्तक विमोचन र हाल प्राप्त पुरस्कार एमाले नेता अधिकारीकै हातबाट प्राप्त गर्ने संयोग मिलेको उनले सुनाए ।

एमाले सचिव अधिकारीले देशको रक्षाका लागि पत्रकारको आवाज र कलम खुम्चिन नहुने बताए । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेकोमा उनले असन्तुष्टि जनाए । सम्पूर्ण जनता र राजनीतिक दल एकताबद्ध भएर देशको विकासमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बरालले बोलेका थिए ।

चौतारीले सम्मानित र पुरस्कृत व्यक्तित्व छनोट गर्न पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरेको थियो । त्यसमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ सदस्य, संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल पदेन सदस्य थिए ।

  • २२ माघ २०८२, बिहीबार १७:०२ प्रकाशित