काठमाडौं ।
पछिल्लो समय बजारमा खाना पकाउने ग्यास (सर्टेज)अभाव भएको भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै निगमले अनावश्यक सञ्चय नगर्न उपभोक्तालाई अनुरोध समेत गरेको छ ।
निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले तथ्यांक सार्वजनिक गर्दै देशमा ग्यासको आपूर्ति मागभन्दा बढी भइरहेको जानकारी दिएका छन् । उनका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिण्डर) ग्यासको माग छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पछिल्ला दिनहरूमा उक्त परिमाणभन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको उनले बताए ।
भट्टले गत शनिबार ११८ बुलेट अर्थात् १ लाख ४९ हजार ५ सय सिलिण्डर ग्यास लोडिङ भएको बताए । त्यसैगरी सोमबार ११५ बुलेट अर्थात् १ लाख ४५ हजार सय सिलिण्डर र मंगलबार १३२ बुलेट अर्थात् १ लाख ६७ हजार ३ सय सिलिण्डर ग्यास लोडिङ भएको उनको भनाइ छ ।
लोडिङ भएका यी बुलेटहरूमध्ये केही नेपाल भित्रिसकेका र केही बाटोमा रहेको जानकारी दिँदै उनले आगामी चुनाव अवधिभर पनि यसैगरी नियमित रूपमा ग्यास आपूर्ति भइरहने दाबी गरे ।
ग्यास आपूर्ति सहज र पर्याप्त रहेको भन्दै उनले अभाव हुन सक्ने त्रासका कारण घरमा अनावश्यक रूपमा सिलिण्डर स्टक नगर्न उनले अनुरोध गरे ।निगमले आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेकाले ढुक्क हुन आग्रह गर्दै अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब मात्र सिर्जना गर्नेतर्फ सचेत गराएको छ।














