जेन्जी आन्दोलनमा पोखरामा प्रहरी हतियार लुट्ने तथा आगजनी गर्ने २ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा प्रहरी हतियार लुटपाट तथा आगजनी गर्ने २ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं. २ भिमसेन टोलमा हतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा महोत्तरी स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार बस्ने वर्ष १८ का रवि चौधरी र भारत घर भई हाल पोखरा महानगरपालिका वडा नं.२ अर्चलबोट बस्ने वर्ष १८ का राज कुमार भन्ने व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास गर्दै जाँदा यहि माघ १९ गते दिउँसो ३ बजेर ५५ मिनेटको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले भदौँ २४ गते जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट हतियार लुटी लगेको र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ भिमसेनटोल स्थित ईन्द्र बहादुर भारीको घर टहरोमा रहेको दाउराको खलियोमा लुकाई छिपाई राखेको पाइएको प्रहरीले जनाएको छ ।

दाउराको बीचमा लुकाई छिपाई राखेको अवस्थामा राइफल फाइभ फिफ्टी फाइभ एमएम एम थर्टि टू ट्वान्टि सिक्स लेखिएको ईन्सास राइफल बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ हातहतियार खरखजना सम्बन्धी कसुरमा छ दिन म्याद थप गरी थप अनुसन्धान अगाडी बढाईएको छ ।

 

  • २१ माघ २०८२, बुधबार १२:०५ प्रकाशित