राष्ट्रपति पौडेल जापान भ्रमण सकेर आज स्वदेश फर्किदैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किदैछन् । पौडेल जापानको नारिता विमानस्थलबाट स्वदेश प्रस्थान गरेका छन् ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएका थिए । उनले सो समारोहलाई सम्बोधन गरेका थिए।

त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए । उनीसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरूको कार्यक्रमलाई पनि उनले सम्बोधन गरेका थिए । उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरेका थिए ।

नेपाल जापानबिच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणका लागि आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गरेका थिए ।

  • २१ माघ २०८२, बुधबार ११:०१ प्रकाशित