टोकियो ।
जापानमा हिमपातसँग सम्बन्धित घटनामा ३० जनाको ज्यान गएको छ ।
यसअघि कहिल्यै नदेखिएको स्तरमा हिमपात भइरहँदा गएको दुई हप्तामा यो संख्यामा ज्यान गएको हो । यी मृत्यु जनवरी २० फेब्रुअरी ३ सम्म परेका अत्यधिक हिमपातसँग सम्बन्धित रहेको जापानको फायर तथा डिजास्टर व्यवस्थापन एजेन्सीले जनाएको छ । एउटा घटनामा ९१ वर्षीया महिला आफ्नै घर बाहिर करिब ३ मिटर हिउँमा पुरिएकी थिइन् ।
प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले प्रभावित क्षेत्रमा राहतकार्यका लागि सैनिक परिचालन गर्ने आदेश दिएको छ । अधिकारीहरूले छाना र भवनबाट खस्ने हिउँ र हिमस्खलनको जोखिमबारे सचेत रहन सर्वसाधारणहरुलाई अनुरोध गरेका छन् । हिमपातको चपेटा सबैभन्दा बढी ओमोरो सहर परेको छ, यहाँ १७५ सेमिसम्म हिउँ परेको छ र यो अन्य वर्ष यति बेला पर्ने औसत हिउँभन्दा दोब्बर हो ।
केही क्षेत्रमा सोमबार १८३ सेमि हिउँ थुप्रिएको थियो । यो भनेको सन् १९८६ यताकै धेरै हो । ओमोरोका गर्भनर सोइचिरो मियाशिताले वृद्ध र एक्लै बस्ने मानिसहरूलाई राहत उपलब्ध गराउन सेना परिचालनको अनुरोध गरेका छन् ।
उत्तरी निइगाटा प्रिफेक्चरमा कम्तीमा १२ जनाको ज्यान गएको छ । आकिता प्रिफेक्चर ६ जना, होक्काइडोमा ३ जना, ओमोरोमा २ जना र अन्य चार प्रान्तमा १र१ जनाको ज्यान गएको बताइएको छ ।














