नेकपाको घोषणा पत्र अन्तिम चरणमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्रको मस्यौदा अन्तिम चरणमा पुगेको बताएको छ । नेकपाले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणा पत्र लेखन समिति बनाएको थियो ।

समितिमा नेता देव गुरुङ, प्रमेश हमाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, राजेन्द्र श्रेष्ठ शक्ति बस्नेत लगायत २५ जना रहेका छन् । मस्यौदा अन्तिम चरणमा पुगेकाले केही दिनमा सार्वजनिक गर्ने समितिका सदस्य हमालले जानकारी दिए ।

घोषणा पत्रमा समुदायमा आधारित समाजवाद, सुशासन, रोजगारी, पर्यटन र उत्पादनमा केन्द्रित रहेर तयार गरिएको हमालले जानकारी दिए ।

घोषणापत्रबारे उनले भने, ‘समुदायमा आधारित समाजवादसम्बन्धी कार्यक्रमलाई घोषणा पत्रमा समेटेका छौँ । विशेष गरी सुशासन, रोजगारी, पर्यटन र उत्पादनमा केन्द्रित रहेर नै आउनेछ । जेनजी विद्रोहको भावनालाई समेट्ने गरी अन्तिम रूप दिने तयारी भइरहेको छ ।’

संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक अन्तरवार्तामा सुशासन, उत्पादन र रोजगारीमा केन्द्रित भएर घोषणा पत्र आउने बताएका थिए ।

‘मूल कुरो सुशासन, उत्पादन वृद्धि र रोजगारी सृष्टिमा केन्द्रित भएर आउँछ । सुशासन, उत्पादन र रोजगारीमा केन्द्रित भएर आउँछ । किनकि भ्रष्टाचार विरुद्धको अभियान हाम्रो अभियान हो । उत्पादन वृद्धि र रोजगारी सृष्टिको अभियान हाम्रो अभियान हो । नेपाली युवाहरूलाई देशभित्रै बस्ने वातावरण बनाउने र बिदेसिएका युवाहरूलाई पनि स्वदेश फर्काउने उद्देश्यका साथ आउँछ’, उनले भनेका थिए ।

प्रचण्डले समुदायमा आधारित समाजवादको निर्माण कसरी गर्ने रु कृषिमा आधुनिकता कसरी ल्याउने रु ऊर्जा क्षेत्रमा क्रान्ति कसरी गर्ने रु पर्यटन विकासका निम्ति स्थानीय स्तरबाट नै पूर्वाधार विकास कसरी गर्ने रु भौतिक पूर्वाधार विकासमा तीव्रता र गति कसरी दिने रु अन्तर्राष्ट्रिय सम्बन्ध कसरी राम्रो बनाउने भन्नेमा केन्द्रित रहेको स्पष्ट पारेका छन् ।

मस्यौदा समितिका अर्का सदस्य राजेन्द्र श्रेष्ठले जेनजीहरूको मागलाई सम्बोधान गर्ने गरी घोषणा पत्र तयार पारिएको जानकारी दिए । अन्तिम रूप दिनका लागि संयोजक प्रचण्डकोमा पठाइएको र स्वीकृत भएपछि सार्वजनिक गर्ने तयारी गरिएको श्रेष्ठले बताए ।

  • २० माघ २०८२, मंगलवार १४:०४ प्रकाशित