पोखरा ।
विदेश पठाईदिन्छु भन्दै ठग्ने दुई जना पोखराबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १९ लामाचौर बस्ने वर्ष ३४ की कल्पना नहर्की पौडेल र मुगु खप्तड गाउँपालिका वडा नं.११ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष २८ का बिरेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी गरी “आफू कानून व्यवसायी रहेको, श्रीमान् पोल्याण्डमा होटल खोली संचालन गरिरहेको र आफ्नो होटलमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायत विभिन्न कम्पनीमा नेपाली
कामदारहरुको माग भई रहेको हुँदा बिदेश पठाईदिन्छु” भनी लोप देखाई ठगी गरेको खुल्न आएको छ ।
उनीहरुले ११ जना व्यक्तिहरुबाट १० हजारदेखी २ लाखसम्म मागी जम्मा १४ लाख ६० हजार ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई यहि माघ ८ गते पक्राउ गरि ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाएको छ ।














