काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफूलाई परिस्थितिले यो ठाउँसम्म पुर्याएको बताइन् । पहिलोपटक संसद्लाई सम्बोधन गरेको बताउँदै उनले परिस्थितिले बाध्य भएर यो अवसर पाएको बताइन् ।
‘जीवनमा यस्तो मौका पनि आयो । परिस्थितिले ल्याएको हो । रहरले पनि होइन । मैले खोजेर गएको पनि होइन । परिस्थितिले बाध्य बनायो । म आएँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘र अहिले यो जुन अवसर मैले यहाँ पाएँ, सायद जीवनमा फेरि पाउन कठिन छ होला । मैले पाउने आशा गरेको पनि छैन ।’
आज पहिलोपटक यस्तो अनुभव गर्न पाएकोमा खुसी लागेको उनले बताइन् ।‘आज यसलाई जीवनमा एउटा राम्रो अनुभव, यस्तो मोड आएकोमा समयले साथ दिएर आएकाले खुसी लागेको छ । यो हेर्ने अवसर पनि पाएँ, बोल्ने मौका पनि पाएँ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
चुनावमा होमिएका मन्त्रीबारे प्रधानमन्त्रीको प्रष्टोक्ति : जेनजीको प्रेसरमा आए, गए
प्रधानमन्त्री कार्कीले मन्त्री पदबाट बिदा भएर निर्वाचनमा होमिएका आफ्ना क्याबिनेटका मन्त्रीहरूबारे स्पष्टीकरण दिएकी छिन् ।
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन् ।
प्रधानमन्त्रीका अनुसार, उनीहरूले मन्त्री बन्नुअघि नै राजनीतिमा लाग्ने बताएका थिए । सोही अनुसार, आफूले बिदा गरेर पठाएको उनको भनाइ छ ।
‘नजानेहरू बसे, हामीलाई थाहा छ यसलाई इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेनजीको प्रेसरमा उनीहरू आएका हुन । आए गए । अहिले सम्पर्क छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘उनीहरूले मात्रै चिया खाएर काम गरेका छन् ।’
साथै, उनीहरूलाई दोष नलगाउन पनि प्रधानमन्त्री कार्कीको आग्रह थियो ।
उनले थप प्रष्ट पार्दै भनिन्, ‘खासमा दोष लगाउने हो भने मलाई लगाउनुस्, उनीहरूलाई नलाउनुस् । किनभने मैले त्यतिखेर सरकार बनाउनैका लागि पनि भनेको थिएँ, जुन दिन तपाईंहरू जाने हो त्यो दिन बिदाइ गर्छु । तपाईंहरू जानुस् भनेको पनि हो । मलाई लाग्दैन कि उनीहरूले बेइमानी गरे भन्नु बेकार छ ।’
उनीहरूलाई त्यतिबेला मन्त्री बनाउन जेनजीहरूको ठूलो प्रेसर रहेको उनले बताइन् ।
‘उनीहरूको आफ्नो जीवन हो, उनीहरूको उमेर छ, उनीहरूको आफ्नो संस्कार छ । त्यसकारण मैले आज खुलाएँ कि मैले नै वचन दिएँ । जेनजीको प्रेसर थियो ल्याउनैपर्ने, उनीहरूको प्रेसर थियो हामी चाहेको बेलामा निस्केर जान्छौं भने । आजसम्म उनीहरूको कुनै सम्पर्क मन्त्रिपरिषद्सँग छैन,’ प्रधानमन्त्री कार्कीको प्रष्टोक्ति छ ।















