जनप्रिय क्याम्पसले चैत १२ गतेदेखि अन्तराष्ट्रिय सम्मेलन गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा ७ मा रहेको जनप्रिय बहुमुखी क्याम्पसले ज्ञान, नवप्रवर्तन र विश्वव्यापी प्रतिस्पर्धाको कसीमा नेपालको उच्च शिक्षा विषयमा अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ।

अगामी चैत १२ गतेदेखि सम्मेलन आयोजना गर्न लागेको क्याम्पस प्रमुख कृष्ण वाबु वरालले जानकारी दिए। सम्मेलन चैत्र १४ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख बरालले बताए ।

क्याम्पसले नेपालमा उच्च शिक्षाको रुपान्तरण : विश्व प्रतिस्पर्धातर्फका मार्गहरु(ट्रान्सफरर्मीङ हाइएर एजुकेसन इन नेपाल, पाथ वेएज टु ग्लोबल कम्पीटेटिभ्नेस) विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाले गर्न लागेको हो ।

सम्मेलनमा नेपाल, भारत, चीन, थाइल्यान्ड, बंगलादेश लगायतका ख्यातिप्राप्त प्राज्ञ तथा शिक्षाविद्हरुले कि नोट स्पिकरको रुपमा सम्बोधन गर्नेछन् ।

उनीहरुको प्रस्तुतिले विश्व उच्च शिक्षाका नवीनतम अभ्यासहरुलाई नेपाली सन्दर्भमा कसरी अनुकूलन गर्न सकिन्छ भन्ने दिशाबोध गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुबाट ५० भन्दा बढी मूल्यांकन गरिएका अनुसन्धानपत्रहरु प्रस्तुत हुनेछन् ।
यी कार्यपत्रहरु गुणस्तर प्रत्यायन, डिजिटल रुपान्तरण, शैक्षिक सुशासन, स्वायत्तता र दिगो विकास लक्ष्य जस्ता सामयिक विषयमा केन्द्रित रहनेछन् ।

उच्च शिक्षाका नीतिगत उल्झन र सुधारका उपायहरु पहिल्याउन २ वटा उच्चस्तरीय प्यानल छलफल सञ्चालन गरिनेछ । यसबाट प्राप्त निष्कर्षले विश्वविद्यालयहरु र नीति निर्माताहरुलाई भावी रणनीति तय गर्न मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।

नेपालको पर्यटन राजधानीका रुपमा परिचित पोखरालाई अब प्राज्ञिक तथा अनुसन्धानको केन्द्रका रुपमा ब्रान्डिङ गर्न यो सम्मेलन कोसेढुंगा साबित हुनेछ ।

यो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको उच्च शिक्षा प्रणालीमा विद्यमान खाडलहरु पुर्दै प्राज्ञिक उत्कृष्टता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न ठोस रोडम्याप तयार गर्ने क्याम्पसले विश्वास लिएको छ ।

क्याम्पसको कक्षाकोठामा सीमित शिक्षण सिकाईलाई फराकिलो अनुसन्धानको दायरामा ल्याउन र विश्वविद्यालय उद्ययोग सम्बन्धलाई प्रगाढ बनाउन सम्मेलनले उत्प्रेरकको भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

  • १९ माघ २०८२, सोमबार ११:५६ प्रकाशित