२५ औँ आहा ! रारा गोल्डकपको तयारी पुरा : यसपाली पुरस्कार राशीमा वृद्धि

खेलहरू पहिलो पटक फ्लडलाइटमा खेलाइने

केन्द्रभाग मिडिया

पोखरा ।

२५ औं संस्करणको ‘आहा–रारा पोखरा गोल्डकप’ को तयारी पूरा भएको छ ।

आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक सहारा क्लबले प्रतिष्ठित प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । सहारा क्लबको आयोजनामा हुने उक्त प्रतियोगितामा विदेशका चार र स्वदेशी आठ गरी १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ नेपाल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ–मर्स्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, सहारा क्लब पोखरालगायत सहभागी हुनेछन् ।

यसैगरी, भारतबाट थन्डरबोल्ट युनाइटेड (सिक्किम) सहित दुई समूह तथा उज्वेकिस्तानको आभा फुटबल क्लब र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

क्लवले रजत जयन्ती संस्करणलाई विशेष बनाउँदै यसपालीको पुरस्कार राशिमा वृद्धि गरेको उनले बताए । प्रतियोगिताको विजयी टोलीले १४ लाख एक हजार, उपविजेताले सात लाख एक हजार प्राप्त गर्नेछन् । यसअघिको २४ औं संस्करणमा उपाधि राशी १२ लाख एक हजार र उपविजेता हुने टिमलाई ६ लाख एक हजार रुपैयाँ प्रदान गरिएको थियो ।

आहा–रारा गोल्डकपको खेलहरू पहिलो पटक फ्लडलाइटमा खेलाइने भएको छ।आयोजक सहारा क्लब पोखराका अनुसार यसपटक प्रतियोगितालाई खेलसँगै पोखराको पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्य राखिएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ ।

पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की तथा सहारा युके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाले विशेष सहयोग गरेका छन् ।

  • १८ माघ २०८२, आईतवार १५:५८ प्रकाशित