आज सहिद दिवस, विविध कार्यक्रमसहित मनाइँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज सहिद दिवस विभिन्न कार्यक्रम गरी देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ । प्रत्येक वर्ष १६ माघ गते मनाइने सहिद दिवसमा प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिन्छ ।

सहिद दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै माथेमा, ठाकुर, श्रेष्ठ र शास्त्रीलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

यही १० माघ देखि १६ माघसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छन् । विसं २०१२ देखि नै तत्कालीन काठमाडौंं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष १६ माघमा सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई १० माघमा काठमाडौंको टेकुस्थित पचलीमा, १३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

 

  • १६ माघ २०८२, शुक्रबार ०७:५९ प्रकाशित