आयोगका पदाधिकारी र गृहमन्त्रीबिच चुनाव र सुरक्षाबारे छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगका पदाधिकारी र गृहमन्त्री ओमप्रकाश अर्यालबिच फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे छलफल भएको छ ।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं भयमुक्त वातावरणमा सम्पन्न गर्ने विषयमा आयोग पदाधिकारी र गृहमन्त्रीबिच बिहीबार छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

छलफलमा गृहमन्त्री अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई कार्य गरिरहेको, शान्ति सुरक्षा बिथोल्न खोज्ने जोकोहीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न कटिबद्ध रहेको जनाएका छन् ।

साथै मन्त्री अर्यालले मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको जानकारी दिँदै गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना बनाएर काम गरिरहेको बताए ।

‘आपराधिक तथा निर्वाचन विरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन भैसकेको छ’, गृहमन्त्री अर्यालको भनाइ छ ।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीका क्रममा सरकारबाट प्राप्त सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गरेका छन् ।

साथै उनले निर्वाचन व्यवस्थापनका क्रममा आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी गराउँदै राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातासँग आफ्ना घोषणापत्र तथा कार्यक्रमहरू समुदायस्तरमा लैजान र मतदाताले निर्भयपूर्वक मतदानमा सहभागी हुने वातावरणका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

छलफलमा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर, र सगुन शम्सेर जबरासहित गृह सचिव तथा निर्वाचन आयोगका सचिव लगायतको पनि उपस्थिति थियो ।

  • १५ माघ २०८२, बिहीबार १६:३३ प्रकाशित