प्रतिभा माविको ‘प्रतिभा सुपर लिग’ १८ माघ देखि : १२ वटा विद्यालय सहभागी हुने

केन्द्रभाग मिडिया

पोखरा ।

प्रतिभा माध्यमिक विद्यालयको आयोजनामा यहि माघ १८ गतेदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता ‘प्रतिभा सुपर लिग’ सञ्चालन हुने भएको छ ।

पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग र समन्वयमा हुन लागेको प्रतिभा सुपर लिग माघ २५ गतेसम्म पोखरा रगंशालाको क्रिकेट मैदानमा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक किरण सापकोटाले जानकारी दिए ।लिगमा कास्की जिल्ला भित्रका १२ वटा विद्यालयका टिम सहभागी हुने भएका छन् ।

प्रतियोगितामा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स मावि, रानीपौवामा रहेको ग्लोबल कलेजियट स्कुल, नयाँबजारमा रहेको गुरुकुल विद्यासदन, छोरेपाटनमा रहेको छोरेपाटन मावि, सिमलचौरमा रहेको जनप्रिय मावि, रामघाटमा रहेको टप्स मावि सहभागि हुने भएका छन् ।
यस्तै तालचोकमा रहेको डाउमन्ड मावि, नेपाल भारत मैत्री विद्यालय , नदीपुरमा रहेका प्रतिभा मावि, मालेपाटनमा रहेको बाराही मावि, नदीपुरमा रहेको बालमन्दिर मावि र मासबारमा रहेको मदरल्यान्ड मावि सहभागी हुने भएका छन् ।

प्रतियोगिताको विजेतालाई ३० हजार नगद, मेडल तथा ट्रफी प्रदान गरिने आयोजक विद्यालयले बताएको छ । उपविजेतालाई २० हजार नगद, मेडल तथा ट्रफी प्रदान गरिने भएको छ । यस्तै बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्लेयर अफ द सिरिज तथा म्यान अफ द म्याच जस्ता व्यक्तिगत विद्यामा पनि ट्रफिसहित सम्मान गरिने छ ।

यस्तै उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुले कास्की जिल्ला अन्तर्गतको अन्डर १९ क्रिकेट टिममा चयन हुने अवसर प्राप्त गर्ने छन् ।
लिगबारे जानकारी दिदैं विद्यालयका अध्यक्ष नारायण पौडेलले नेपालमा क्रिकेटको विकासमा यस्ता प्रतियोगिताले सहयोग गर्ने बताए। प्रतियोगिता मार्फत विद्यार्थी प्रतिभा पहिचान हुने उनको भनाइ छ।

प्रतियोगिताले स्थानीय क्रिकेटको स्तर सुधार्न र नयाँ प्रतिभाहरुलाई अवसर दिन महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
विद्यालयले विद्यार्थीहरुमा खेलकुदमार्फत भातृत्व, अनुशासन, नेतृत्व, सहकार्य तथा खेल भावना विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको उल्लेख गरेको छ ।

प्रतियोगिता लिग कम नकआउट प्रणालीमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलको नियमानुसार सञ्चालन हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन माघ १८ गते बिहान ८ बजे हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । समापन तथा पुरस्कार वितरण माघ २५ गते दिउँसो १ बजे पोखरा रंगशालामा हुने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख ५० हजार खर्च लाग्ने आयोजक विद्यालयको अनुमान गरिएको छ ।

  • १५ माघ २०८२, बिहीबार १५:३६ प्रकाशित