चापाकोट टार सिँचाइ आयोजना व्यवस्थित बन्दै

केन्द्रभाग मिडिया

प्रकाश डोटेल,
स्याङ्जा ।

पहाडी जिल्लाअन्र्तगत सम्भबत नेपालकै ठूलो ‘चापाकोट टार सिँचाइ आयोजना’को नहर व्यवस्थित बन्दै गएको छ । पहाडी भूबनोटमा करिब ३२ वर्षअघि बनेको नहर वर्षेनी पहिरोको चपेटामा परेसँगै हजारौं कृषक प्रभावित बन्दै आएका थिए । सरकारले पछिल्ला वर्षमा बजेट सुनिश्चिता गरेपछि नियमित मर्मत सम्भार भएसँगै नहर व्यवस्थित बन्दै गएको हो ।

स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङकोटस्थित दार्सिङ्गमा बाँधस्थल रहेको नहर संचालनमा आएपछि नै पहिरोको चपेटामा पर्दै आएको थियो । २७ किलोमिटर लामो नहरको दर्जनौ ठाउँमा हुने अतिभूक्षयको रोमथाम र बाँधस्थल दार्सिङ्गबाट ६ किलोमिटर नजिक भुङ्ग्दीको मुख्य चट्टानी पहाडमा पहिरो नियन्त्रणको दिगो व्यवस्थापन भएपछि नहर व्यवस्थित बन्दै गएको छ ।

नहरबाट चापाकोट नगरपालिका वडा नं.–२, ३, ४, ८, ९ र १० का झण्डै ८८५ हेक्टर खेतीयोग्य जमिन सिँचाइ सुविधा पुगेको छ । गत आर्थिक वर्ष २०८१÷८२ सरकारले नहर मर्मतका लागि तीन करोड विनियोजन गरेको थियो । विनियोजित बजेटले भुङ्ग्दीको भिरालो पथ्थर सहितको कडा भूभागमा ढलान गरेपछि पहिरो प्रभावित क्षेत्रको भूक्षय रोकिएको चापाकोट टार सिँचाइ आयोजना जलउपभोक्ता समितिका अध्यक्ष कृष्ण सुबेदीले बताए ।

नियमित रुपमा मर्मतसम्भारको काम हुँदै आएपनि मुख्यगरी बढीमात्रामा पहिरो जाने क्षेत्रको दिगो व्यवस्थापन भएपछि नहर व्यवस्थित बनेको हो । चालु आर्थिक वर्ष २०८२-८३ मा पहिरो नियन्त्रण र नियमित मर्मतका लागि संघीय सरकारबाट एक करोड र प्रदेश सरकारबाट २० लाख छुट्टाएर काम भईरहेको समितिले जनाएको छ । ममर्तको काम नियमित रुपमा हुँदै गएको छ भने ममर्तकै समयमा तालिका मिलाएर आवश्यकता अनुसार नहरमा पानी छाड्ने गरिएको छ ।

‘बर्खा लागेपछि जाने पहिरोले नहर अबरुद्ध बनाउँदा सयौ हेक्टर जमिन बाँझो हुनेहुँदा हजारौं कृषकले सास्ती भोग्दै आएका थिए ।’ जलउपभोक्ता समितिका अध्यक्ष सुबेदीले भने, ‘सरकारले बजेट सुनिश्चित गरेसँगै पहिरो नियन्त्रण, मर्मतसम्भारको काम नियमित भएपछि खेतीयोग्य जमिनमा निरन्तर सिँचाइ सुविधा पुगेको छ ।’ पहिरो नियन्त्रण र नियमित मर्मत नहुँदा अनियमित बन्दै आएको नहर पछिल्लो समय नियमित रुपमा सुचारु रहेको उनले बताए ।

चापाकोटको धेरै क्षेत्रफलमा सिँचाइ सुविधा पुगेकै भएर नहरको दिगो व्यवस्थापनमा सरकारले नियमित बजेट विनियोजन गरेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाले जनाएको छ । अतिपहिरो प्रभावित क्षेत्रको सुधारसँगै नियमित मर्मतबाट नहरलाई स्थायित्व दिन कार्यालयले समन्वयको काम गर्दै आएको छ । प्रभावित क्षेत्रको पहिचानसँगै दिगो सुधार र सम्भावित जोखिमका स्थानलाई मध्यनजर राखेर ममर्तको कामलाई प्राथमिकता दिएर अगाडी बढेको कार्यालयले जनाएको छ ।

मुलनहरको सुधार र दिगो व्यवस्थापन र लामो समयदेखि मर्मतको काम गर्दै आएको समितिले सिँचाइ क्षेत्र विस्तारमा शाखा नहर निर्माणलाई तीव्रता दिएको छ । मुलनहरको स्थायित्व, सुधार र सिँचाइ क्षेत्रको विस्तारमा काम भइरहेको समितिका उपाध्यक्ष हसन मियाँले बताए । उनका अनुसार नहरलाई जोगाई राख्न केहि स्थानमा साना र छोटा सुरुङ्मार्ग (टनेल) समेत बनाउन आवश्यक रहेको छ ।

सिँचाइ सुविधा नियमित भएपछि बसाइँ सर्नेक्रम रोकिएर आउने क्रम बढेको छ भने स्थानीय कृषकले मौसमी तथा बेमौसमी तरकारी र फलफूल खेती विस्तार गर्दै आएका छन् । सिँचाइको सुनिश्चितासँगै चापाकोट टार क्षेत्रमा आलु र तोरी लगाएतका बाली लगाउने कृषकको संख्यामा ह्वात्तै वृद्धि भएको छ । पछिल्लो समय झण्डै ६ सय घरपरिवार आँप–लिची खेती विस्तारमा लागेको स्थानीय कृषक विश्वास पुरीले बताए ।

२०२५ सालमा निर्माण थालिएको झण्डै ३० करोडको लागतमा बनेपछि २०५० सालबाट संलाचनमा आएको नहरले त्यस क्षेत्रका कृषकको दैनिकीमा ठूलो परिवर्तन ल्याएको छ । सिँचाइ सुविधाको अभावमा सुख्खा रहेका टारहरुमा नहरबाट सिँचाइ हुन थालेपछि धान, गहुँ, मकै खेतीसँगै तरकारी, फलफूल उत्पादन, आयआर्जनमा वृद्धि भएसँगै हजारौं कृषक लाभान्वित भएका छन् । चापाकोट टार जिल्लाकै धान उत्पादन पकेट क्षेत्र र अन्नभण्डारणमा रुपान्तरण भएको छ ।

  • १४ माघ २०८२, बुधबार १५:४५ प्रकाशित