पोखरा ।
मुस्ताङमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि भारी हिमपातहुँदा त्यहाँको जनजीजन प्रभावित भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । हिमपातले सडक सञ्जाल विच्छेद भएपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले अत्यावश्यक बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको हो ।
प्रशासनले आज (बुधबार) एक जरुरी सूचना जारी गर्दै मुक्तिनाथ क्षेत्र, कोरला नाका र उपल्लो मुस्ताङका अधिकांश भागमा भारी हिमपात भइरहेको जनाएको छ । हिमपातका कारण कालीगण्डकी करिडोरअन्तर्गत कागबेनी–कोरला खण्ड र कागबेनीदेखि मुक्तिनाथ जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
मुस्ताङका प्रमुखजिल्ला अधिकारी अजिता शर्माले जारी गरेको सूचनामा सडक अवरुद्ध भएकाले हाललाई ती क्षेत्र भएर यात्रा नगर्न र नगराउन अनुरोध गरिएको छ । जिल्लाका अन्य भागमा पनि वर्षा र हिमपातको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीलाई मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर मात्र उच्च सतर्कताका साथ यात्रा गर्न प्रशासनले सुझाएको छ ।
प्रशासनका अनुसार मुस्ताङ–डोल्पा याकखर्क क्षेत्र, मुस्ताङ–मनाङ थोराङला पास, सरिबुङ पास, मेसोकान्तो पास र मुस्ताङ–म्याग्दी धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका उच्च लेकाली क्षेत्रमा भारी हिमपात भइरहेको छ ।
















