विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्‍ने सम्भावना समाप्त भएको हो।

१४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ६८ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ सकियो । कप्तान इन्दु बर्माले चोटका कारण बीचमै मैदान छाडिन् ।

सातौं ओभरको चौथो बलमा इन्दु चोटग्रस्त भएपछि मैदान छाडेकी थिइन् । उनी पछि मैदानमा फर्कन सकिनन् ।नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन बनाए । रुबिना क्षेत्रीले १० रन बनाइन् ।

६ वटै टोलीको टुङ्गो लाग्यो

आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ ।आजको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।

समूह ए मा पपुवा न्यु गिनीलाई ५ विकेटले हराएपछि अमेरिका पनि सुपर सिक्समा पुगेको छ । समूह ए बाट बंगलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्सबाट शीर्ष चार टिमले आगामी जुनमा इंग्ल्याण्डमा हुने महिला टी२० विश्वकपमा स्थान बनाउनेछ ।

  • १२ माघ २०८२, सोमबार १३:५० प्रकाशित