काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक–९ मा सोमबार बिहान घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बालेनकी श्रीमती सविना काफ्ले सहभागी घरदैलोमा उल्लेख्य जनसहभागिता देखिएको छ।
माघ १२ गते बिहान ८ बजेदेखि सुरु भएको उक्त कार्यक्रम ११ बजेसम्म सञ्चालन गरिएको थियो। दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो ।
कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए । जनताबाट प्राप्त सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले अभियानप्रति थप उत्साह मिलेको पार्टीले जनाएको छ।
उक्त घरदैलो कार्यक्रम रास्वपाका नेताहरू तथा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा सम्पन्न भएको हो । यसैबिच, रास्वपाले आज दिउँसो पनि झापा–५ मा अर्को मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम तय गरेको छ। दिउँसोको कार्यक्रम सोमबार दिउँसो ३ बजेदेखि कमल गाउँपालिका वडा नं। ५ स्थित पाडाजुगी चोकबाट सुरु हुनेछ।















