राष्ट्रियसभा निर्वाचन :गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा । गण्डकी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा जगत् तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा विजयी भएका छन् । अन्य समूहतर्फ कांग्रेसका तिमिल्सिना र महिलातर्फ एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जगत् तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गरे । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका कपिल लामालाई ४ हजार ९२ मतभारको अन्तरले पराजित गरे । लामाले ९ सय ४१ र राष्ट्रिय जनमोर्चाका शंकर प्रसाद बरालले ७६ मतभार मात्र पाए । तिमिल्सिनाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३१ मत (२ हजार ४ सय ८९ मतभार) प्राप्त गरे ।

एमालेकी सम्झना देवकोटा ५ हजार १४ मतभारसहित विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार प्राप्त गरिन् भने जनमोर्चाकी लक्ष्मी बाँस्कोटाले ७६ मतभार पाइन् । देवकोटाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३० मत (२ हजार ४ सय ७० मतभार० पाएको निर्वाचन कार्यालयले जनाएको छ । विजयी दुवै उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरिसकेको छ ।

गण्डकीमा यस निर्वाचनका लागि कुल २ सय २८ मतदाता थिए । जसमा ५९ प्रदेश सभा सदस्य र १ सय ६९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका थिए । प्रदेश सभातर्फ राप्रपाका २ जना सांसदले निर्वाचन बहिष्कार गरेकाले ५७ जनाले मात्र मतदानमा सहभागिता जनाए ।  राष्ट्रियसभामा २० फागुन देखि १८ सदस्य रिक्त हुँदैछन् । त्यस मध्य कोसी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइकेका छन् । बाँकी १७ पदका लागि आइतबार मतदान भएको हो ।

 

 

  • ११ माघ २०८२, आईतवार २१:०५ प्रकाशित