पोखरा ।
गण्डकी प्रदेश प्रदेशसहित सात वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान सकिएको छ । मतदानका लागि तोकिएको समय ३ः०० बजेसम्मको अवधिमा २२३ जनाले मत दिएका हुन् । प्रदेश तर्फ ५७ जना र पालिका तर्फ १६६ जना जनाले मत दिएका छन् । प्रदेशमा राप्रपाका २ जनाले मत दिएनन् ।
राष्ट्रियसभामा २० फागुन देखि १८ सदस्य रिक्त हुँदैछन् । त्यस मध्य कोसी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइकेका छन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्रमा आज मतदान भएको हो । सबै प्रदेशमा मतदान सम्पन्न भएको छ ।
गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।
त्यसैगरी लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सम्पन्न भएको निर्वाचन आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मत परिणाम आज साँझ ५ बजेपछि एक साथ आउने प्रवक्ता भट्टराईले बताए ।















