देशको पश्चिमी भूभागमा आज रातिदेखि भोलि बेलुकासम्म मध्यम वर्षा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

आज (शुक्रबार) वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि भोलि (शनिबार) बेलुकासम्म देशको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले वर्षासँगै उच्च हिमाली भूभागहरुमा मध्यम हितपात हुने सम्भावना रहेको समेत बताए । उनले वर्षा मध्यम खालको हुने र त्यो शनिबार बेलुकासम्म मात्रै रहने पनि स्पष्ट पारे ।

वरिष्ठ मौसमविद् पौडेलेले भने, ‘शुक्रबार रातिदेखि शनिबार बिहानसम्म विशेष गरेर पश्चिमतिरबाट पानी पर्ने प्रणाली, हिमपार्ने वर्ष भित्रिँदैछ । तर त्यस्तो ठूलो खालको झरी पार्ने पानी चाहीँ होइन । तर पहिलो हिउँदे वर्षाको रुपमा शुुक्रबार रातिदेखि बिहानसम्म विशेष गरेर सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ ।’

उनले थप भने, ‘उच्च हिमाली भूभागहरुमा मध्यम हितपातको सम्भावना पनि देखिन्छ । साथसाथै काठमाडौँसम्म आइपुग्दा केही हल्का वर्षा बदलीको सम्भावना रहन्छ । तर पूर्वतिर वर्षा हुँदैन । किनभने यो पश्चिमबाट आएको प्रणाली हो । उपल्लो वायु मण्डलबाट आउँछ । त्यसले गर्दा त्यसरी रहन्छ । विस्तारै फेरि शनिबार दिउँसो बेलुकातिरबाट खुल्दै जान्छ ।’

शाखाकाअनुसार १३ माघको मंगलबार रातिदेखि फेरि हल्का वर्षको सम्भावना रहेको छ । मंगलबार रातिदेखि बुधवारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा मध्यमखालको हिमपातको पनि सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिनसक्ने विज्ञहरूको भनाइ छ ।

यस वर्षको हिउँदमा सामान्यभन्दा कम वर्षा भएको र तापक्रम औसतभन्दा माथि रहेको अवस्थामा यो वर्षाले कृषि, वायु प्रदुषण नियन्त्रण र जलस्रोतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

  • ९ माघ २०८२, शुक्रबार ०८:२६ प्रकाशित