दमकमा एमालेलाई राजनीतिक धक्का : युवा सङ्घका दमक अध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र तथा गृहनगर दमकमा एमालेलाई राजनीतिक धक्का लागेको छ ।

एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले पार्टी र पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

खतिवडाले राष्ट्रिय युवा संघ नेपालको दमक नगर कमिटी अध्यक्ष र नेकपा एमाले को सङ्गठित सदस्य पद त्यागेको घोषणा गरेका हुन् । एमालेको ‘लालकिल्ला’ मानिने र अध्यक्ष ओलीको आफ्नै क्षेत्रमा प्रभावशाली युवा नेताले पार्टी छाडेर बालेन शाहको चुनावी अभियानमा होमिने निर्णय गरेका हुन् ।

आफ्नो राजीनामा पत्रमा खतिवडाले समयको पदचाप र परिवर्तनलाई आत्मसात् गर्दै आफू बालेन शाहको पक्षमा उभिएको बताएका छन् । उनले भनेका छन्, ‘परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु ।’

  • ७ माघ २०८२, बुधबार १२:३७ प्रकाशित