मलङ्गवा ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मङ्गलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।
लामो समय मधेश केन्द्रित राजनीतिमा सक्रिय रहेका महतोले यसपटक आफ्नै नेतृत्वको नयाँ पार्टीबाट चुनाव लड्ने निर्णय गरेका छन् । उनी समर्थकसहितको जुलुस र नारावाजीका साथ निर्वाचन कार्यालय पुगेका थिए । सर्लाही–२ मा महतोको उम्मेदवारीसँगै यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।
यस क्षेत्रमा महतोको मुख्य प्रतिस्पर्धा पुनः नेकपाका नेता महेन्द्र राय यादवसँग हुने सम्भावना देखिएको छ । यसअघिको निर्वाचनमा महतो यादवसँग झिनो मतान्तरले पराजित भएका थिए ।















