पोखरा ।
मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई सामेबार पोखरामा पक्राउ गरिएको हो । प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचार गरेको थियो । त्यसैका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । प्रसाइँ सोमबार कार्यक्रमका लागि पोखरा आएका थिए ।
पक्राउ परेका पसाइँलाई पोखरा विमानस्थलबाट केहीबेर अगाडि काठमाडौं लगिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारसँग सम्झौतासमेत गरेका प्रसाईंले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेकोसम्म आरोप छ ।
कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएका प्रसाइँले पैसा लगानी गरेर सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको अडियोसमेत सार्वजनिक भएको थियो ।
्रप्रसाइँले कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले सामाजिक सञ्जालमा पनि यो भिडियो पोस्ट गरेका थिए । कारागारबाट छुटेपछि जेनजी आन्दोलनका बेला पनि प्रसाईंको भूमिकालाई शंकास्पद ढंगले हेरिएको थियो भने उनलाई आन्दोलनको स्टेकहोल्डर्स भन्दै नेपाली सेनाले वार्तामासमेत बोलाएको थियो ।
जेनजी आन्दोलनको फाइदा उठाउन खोजेका प्रसाईँ असफल बनेपछि सुशीला कार्की नेतृत्वको सरकारको विरुद्धमा अभिव्यक्ति दिँदै आइरहेका छन् भने चुनाव बहिस्कार गर्ने भन्दै अभियान चलाइरहेका छन् । पटक पटक पक्राउ पर्दै छुट्दै गरेका प्रसाईंको अभिव्यक्ति र सरकारी डाटा चोरी गर्ने घटनाले उनी पक्राउ पर्दै फेरि प्रहरी हिरासतमा पुगेका हुन् ।














